साँस्कृतिक नगर भक्तपुरको परिचयः
स्थानीय नेवारी भाषामा ख्वप नामले चिनिने भक्तपुर काठमाण्डौ उपत्यकाको पूरानो नेवारी साँस्कृतिक केन्द्र हो । यो नगर नेपालको राजधानी काठमाण्डौबाट १५ कि.मी. पूर्वमाअवस्थित छ । भक्तपुरको पूर्वमा काभ्रे जिल्ला उत्तर पूर्वमा काठमाण्डौ जिल्ला र दक्षिणमा ललितपुर जिल्ला पर्दछ । यो नगर समुद्री सतहबाट १४०१ मीटर माथि अवस्थित छ । यस नगर ६.८८ वर्ग कि.मी. फैलिएको छ । यस नगरमा ९० प्रतिशतभन्दा बढी नेवार र बाँकी ब्राम्हण, मुस्लिम र अन्यजातिहरु बसोबास गर्दछन् । वि.सं. २०७८ सालको जनगणना अनुसार भक्तपुर जिल्लामा ४३२१३२ र ऐतिहासिकनगरी भक्तपुरमा ७९,१३६ जनसंख्याबसोबास गर्दछन् । यहाँका सम्पदा संरक्षणलाई प्रशंसा गर्दै युनेस्कोले यस शहरलाई सन् १९७९ माविश्व सम्पदा सूचीमा सूचीकृत गरियो । नेपालको लिखित ईतिहास भक्तपुरको चाँगुनारायण बाट शुरु हुन्छ । जुजु धौ, भादगाउँले टोपी, हाकु पटासी, माटोको भाँडाकुडा र हस्तकला आदीले भक्तपुर नगरको परिचय र मौलिकता झल्काउँछ ।
ईतिहासः
नेपालको लिखित ईतिहास भक्तपुरको चाँगुनारायणमा रहेको पाँचौ शताब्दीको लिच्छबीकालिन शिलालेखबाट प्रारम्भ भएको हो ।भक्तपुर नगर सर्वप्रथम आठौं शताब्दीमा राजाआनन्द देवले स्थापना गरेको थियो । यहाँको सबै भन्दा पूरानो मन्दिर दत्तात्रयको मन्दिर १५ औं शताब्दीमा राजायक्षमल्लको पालामा बनेको थियो । यो नगर बाह्रौं शताब्दी देखि पन्ध्रौं शताब्दीसम्म नेपालको राजधानीनगरको रुपमा रहेको थियो । यो नगर १८ औं शताब्दी सम्म एउटा स्वतन्त्र राज्यको रुपमा रहेको थियो ।
भूगोलः
भक्तपुर नगर राजनैतिक रुपमा १० वडा र २४ वटा टोलहरुमा विभाजित छ । भौगोलिक रुपमा यो नगर उडिरहेको परेवाको आकारमा पूर्व पश्चिम ४.५ कि.मी. लम्बाई र उत्तर दक्षिण १.५ कि.मी. चौडाइमा फैलिएको छ । यस नगरको उत्तर र दक्षिणमा दुई वटा नदी र नगरभरी पोखरीहरु छरिएका छन् ।
हावापानीः
भक्तपुर नगर काठमाण्डौ उपत्यकाको एक भाग हो । त्यसैले यस नगरको हावापानी काठमाण्डौ उपत्यकाको हावापानी संग मिल्दोजुल्दो छ । यस शहरको तापक्रम गर्मी याममा अधिकतम ३५ डिग्री सेल्सियस र हिउँदमा न्युनतम –३ डिग्री सेल्सियस सम्म पुग्दछ । यहाँको औसत वर्षा १३६२.२ मिलीमीटर र ९० प्रतिशत वर्षा मनसुनमा (जेष्ठ महिना देखि भदौ सम्म) हुन्छ ।
अर्थव्यवस्थाः
यस शहरको आर्थिक वृद्धि विस्तारै बढ्दै छ । यहाँका मानिसहरुको मुख्य पेशा कृषि हो भने पर्यटन तीब्र रुपमा विकास हुँदै गरेको उद्योग हो । घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय र हस्तकलाका सामग्रीहरु यहाँको आम्दानीको मूख्य स्रोत हुन् । २०६८ सालको जनगणना अनुसार यस नगरको व्यक्ति आम्दानी ७४२ डलर रहेको छ ।
पर्यटनः
यस शहरको आर्थिक विकासमा पर्यटन उद्योगले ठूलो योगदान गरिरहेको छ । अक्टोबर र नोभेम्बर महिना भक्तपुरमा पर्यटन आगमनको मुख्य सिजन हो । आ.व. २०५०।५१ देखि २०७९।०८० असारमसान्तसम्ममा कूल ४५ लाख ५२ हजार ८२७ जना विदेशी पर्यटकहरुले भक्तपुर नगरको अवलोकन गरे ।आ.व. २०७९।८० मा मात्र चीन र सार्क मुलुकका ८१,३१८ जना तथा गैर सार्क मुलुकका ८६,३३४ गरी कूल १ लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकहरुले साँस्कृतिक नगर भक्तपुरको अवलोकन गरेका थिए ।