FAQs Complain Problems

News

नगर प्रमुख प्रजापतिलाई भक्तपुर क्यान्सर अस्पतालमा स्वागत

भक्तपुर क्यान्सर अस्पतालको नयाँ व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई आइतबार भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालमा स्वागत गर्नुहुँदै बधाई दिनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालद्वारा आयोजित उक्त कार्यक्रममा संघीय सांसद एवम् अस्पताल व्यवस्थापन समितिका सल्लाहकार प्रेम सुवालले गरिब नेपाली जनताले सस्तो र गुणस्तरीय उपचार पाउन् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाले आवश्यक जग्गा प्रदान गरी आर्थिक सहयोग प्रदान गर्दै आएको बताउनुहुँदै अस्पतालमा भइरहेको अनियमितता रोक्न नयाँ व्यवस्थापन समिति गठन भएको र नवगठित व्यवस्थापन समितिले कर्मचारीको वृत्ति विकासका साथै बिरामीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न अग्रसर रहने बताउनुभयो ।

अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचारको विषयमा व्यवस्थापन समितिका पदाधिकारीहरूसँग पटक–पटक स्पष्टीकरण माग गरेको बताउनुहुँदै आजको मितिसम्म पनि कोही पनि उपस्थित नभएको आपत्तिजनक भएको बताउनुभयो ।

नगर प्रमुख सुनिल प्रजापतिले नयाँ व्यवस्थापन समितिले आर्थिक अनुशासन र पारदर्शितालाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै उहााले बिरामीको सेवा र अस्पतालको हितमा काम गर्नेहरूलाई व्यवस्थापन समितिले उत्साहित गर्ने काम गर्ने र भागबण्डा, पक्षपात र आर्थिक अनियमिततालाई बन्द गरिने जानकारी गराउनुभयो ।

आर्थिक अनियमितताका आरोप लागेकाहरूकै हातमा अस्पताल छोड्नुको अर्थ अस्पताललाई थप बर्बादीमा पु¥याउनु हुने बताउनुहुँदै सार्वजनिक सम्पत्ति हिनामिना गर्ने जोकोही कानुनी दायरामा आउनुपर्ने र नगरपालिकाले जनस्तरबाट र कानुनी हिसाबबाटै आर्थिक अनियमितता गर्नेहरूलाई जनताबीच ल्याउने प्रस्ट पार्नुभयो । उहाँले क्यान्सर अस्पताल जनताकै सम्पत्ति भएको बताउनुहुँदै कुनै व्यक्ति विशेषको कमाइ खाने भाँडो बनाउन नदिने बताउनुभयो ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचारलाई रोक्न र संस्थालाई बचाउन नगरपालिकाको कदम स्वागतयोग्य भएको बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पताल कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले अस्पतालको ल्याब तथा फार्मेसीमा भइरहेको भ्रष्टाचारबारे बोल्नुहुँदै व्यवस्थापन समितिका व्यक्तिहरूले कर्मचारीहरूलाई धम्क्याउने कार्य गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले पनि बोल्नुभएको थियो ।