FAQs Complain Problems

News

भक्तपुरको नगरसभाबाट युवा संसद सञ्चालन कार्यविधि २०७५ पारित

भक्तपुर नगरपालिकाको चौथो नगरसभाको शनिबार बसेको बैठकले भक्तपुर नगरपालिकाको युवा समिति गठन तथा युवा सञ्चालन कार्यविधि २०७५ सर्वसम्मतिले पारित गर्‍यो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ पुस्ताका युवाहरुलाई संसद कसरी सञ्चालन हुन्छ भन्ने बारे थाहा दिन युवा संसद सञ्चालन कार्यविधि तयार गरी लागू गर्ने उद्देश्यले कार्यविधि पारित गरेको बताउनुभयो ।

सो कार्यविधिमा युवाको नेतृत्व तथा क्षमता विकासमा सहयोग गर्ने, युवा समितिमा सम्बन्धित वडाभित्रका १६ देखि २४ वर्ष उमेर समूहका युवाहरु सम्मिलित गरी समिति गठन गर्ने र संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने युवा लक्षित कार्यक्रम कार्यान्वयनका लागि समितिले सहयोग गर्ने, विपद् व्यवस्थापन तथा सामाजिक अन्धविश्वास र कुरीति विरुद्ध युवा परिचालनका लागि सहजीकरणका भूमिका खेल्ने लगायतका व्यवस्थाहरु  समावेश गरिएको छ ।

भक्तपुर नगरपालिकाको युवा समिति गठन तथा युवा सञ्चालन कार्यविधि २०७५ पारित गर्नु अगाडि छलफलमा भाग लिंदै सभासद् बलराम न्हिसुतु, सिद्धिराम अवाल, हरिरत्न गोर्खाली, शिवप्रसाद बाला, राजेन्द्र माक र श्यामसुन्दर मातांलगायतले राष्ट्रिय युवा ऐनबारे स्पष्ट पार्नुपर्ने, जोखिममा रहेका युवाहरुबारे प्रष्ट हुनुपर्ने र भक्तपुर नगरमा भएका युवाहरुको संख्या उल्लेख गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

विधायन समितिका संयोजक हरिराम सुवालले सभासदहरुको जिज्ञासालाई प्रष्ट पार्दै युवा वर्गको नेतृत्व तथा क्षमता विकास गरी देशको शासन सञ्चालन प्रणाली र सुशासन सम्बन्धमा युवाहरु सुसूचित र सशक्तिकरण गर्ने उद्देश्यका साथ भनपाका १० वटै वडामा निश्चित संख्यामा सदस्य समावेश गरी युवा संसद सञ्चालन गरिने प्रष्ट पार्नुभयो ।

बैठकमा भक्तपुर नगरपालिकाबाट फागुन ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने अन्तर नगर कराँते प्रतियोगिता प्रचारार्थ विभिन्न नगरपालिका भ्रमणमा जानु भएका भ्रमण टोलीहरुको तर्फबाट वडाध्यक्षहरु हरिराम सुवाल, उकेश कवां, रविन्द्र ज्याख्व र श्यामकृष्ण खत्री लगायतले भ्रमण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभामा विधायन समितिका संयोजक हरिराम सुवालले “भक्तपुर नगरपालिका नगर प्रहरी सञ्चालन सम्बन्धमा बनेको विधेयक २०७५” प्रस्तुत गर्नुभयो । नगरसभाको अर्को बैठक माघ २१ गते १ बजे बस्नेछ ।