FAQs Complain Problems

News

भक्तपुर नगरपालिकाको चौथो नगरसभा सुरु

२०७५ पुस ३० गते, सोमबार

भक्तपुर नगरपालिकाको चौथो नगरसभा सोमबारबाट सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पानसमा द्विप प्रज्ज्वलन गरी नगरसभाको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि बिजुक्छेंले देशको स्थिति निराशाजनक रहे तापनि आशाका सम्भावना अझ बाँकी रहेको विचार व्यक्त गर्नुभयो ।
विश्व राजनीतिको चर्चा गर्नुहुँदै नेता बिजुक्छेँले पुँजीवादी देशहरूमा अस्थिरता बढिरहेको बताउनुहुँदै नेपालका भूतपूर्व र वर्तमान सेनाप्रमुखहरू भारत भ्रमणमा रहनु शंकास्पद रहेको बताउनुभयो ।

अमेरिकामा सरकारी खर्चसम्बन्धी व्यवस्था हुन नसक्दा उत्पन्न गञ्जागोलको अवस्था र भारतमा धर्म, जात र भाषाको आधारमा राजनीति गरी फासीवादको अभ्यास भइरहेको विचार व्यक्त गर्नुहुँदै कम्बोडियाको राजनीतिक इतिहासको चर्चा गर्नुभयो । उहाँले आसियानको प्रयोग गरी अमेरिकी साम्राज्यवाद एसियामा क्रियाशील हुन खोजिरहेको बताउनुभयो ।

साम्राज्यवादी देशहरूको एसियामा आफ्नो पकड बनाइ राख्न विभिन्न देशहरूमा आधार शिविर बनाउन क्रियाशील रहेकोप्रति नेपाल सचेत हुनुपर्ने विचार व्यक्त गर्नुहुँदै कम्बोडियाको राजनीतिक इतिहासको चर्चा गर्नुभयो ।
बिमस्टेकको बैठक बसेर सार्कको बैठक नबस्नुमा भारतीय विस्तारवादको मुख्य भूमिका रहेको विचार व्यक्त गर्नुहुँदै अध्यक्ष बिजुक्छेंले हिन्द महासागरमा भारतीय र अमेरिकी साम्राज्यवादको सहकार्य गरी चीनमाथि प्रहार गर्न खोज्नु गलत भएको विचार व्यक्त गर्नुभयो ।
चीनको िवरुद्धमा नेपाललाई एसिया प्यासिफिक क्षेत्रको सैनिक आधार शिविरको रुपमा साम्राज्यवादीहरुले प्रयोग गर्न खोजिरहेको प्रति नेपाल सरकार र नेपाली जनताहरू सचेत हुनुुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सहकारी ऐन संशोधनका लागि संसदमा विचाराधीन रहेको जानकारी गराउनुहुँदै सम्पदा विनास गरेर विकास निर्माण हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले पुस्तकालय व्यवस्थापन र सीपमूलक तालिमहरू सञ्चालन गर्नुपर्ने र भक्तपुर नगरलाई प्रकाश स्तम्भको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

विदेशमा प्रतिबन्धित औषधि नेपालमा बिक्री वितरण भइरहेको समाचार सुन्नमा आएको बताउनुहुँदै उहाँले सरकारी अस्पतालको सुविधाहरू व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले देशभरिका मानिसहरू राजधानीकेन्द्रित हुनबाट रोक्न सरकारले देशको सन्तुलित विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल, कला–संस्कृति संरक्षित सांस्कृतिक नगर बनाउने उद्देश्य पूरा गर्न जनप्रतिनिधिहरू अग्रसर रहेको र नगरपालिकाको हरेक गतिविधि जनताबीच खुला पुस्तकसरह रहेको विचार व्यक्त गर्नुभयो ।
स्थानीय भाषा, संस्कृति, लिपि, सम्पदा, खेलकुदलगायत समाजको विभिन्न क्षेत्रहरूमा ख्यातिप्राप्त व्यक्तित्वहरूबारे जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम बनाई लागू गरिसकेको जानकारी गराउनुहुँदै प्रमुख प्रजापतिले सरसफाइलाई अझ व्यवस्थित गर्न फोहर व्यवस्थापनको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन प्राविधिक टोली गठन गरिसकेको बताउनुभयो ।

कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाको क्रियाकलापहरू उत्साहजनक रहेको बताउनुभयो । सुन्दर नगरी निर्माण गर्न खोट–खराबी निमिट्यान्न पार्दै सबल पक्षलाई प्रवद्र्धन गर्दै लानुपर्ने बताउनुहुँदै सांसद गोसाईले भक्तपुर नगरपालिकाले शिक्षा र संस्कृति प्रवद्र्धनमा जोेड दिनुपर्ने बताउनुभयो ।

नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का अर्का सांसद सृजना सैंजुले पुँजीवादमा राजतन्त्र र लोकतन्त्रमा केही भिन्नता नहुने र पुँजीवादी व्यवस्था राजनैतिक रुपमा अप्रजातान्त्रिक र पतनशील व्यवस्था भएको विचार व्यक्त गर्नुभयो ।
नेपालमा अहिले कम्युनिष्ट भन्न रुचाउने पुँजीवादी पार्टीहरूले शासन गरिरहेको उल्लेख गर्दै स्थानीय तहले सहकारीमार्फ् जनताको समस्या समाधानतर्फ ध्यान दिनु आवश्यक भएको बताउनुभयो ।

भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम, योजना र बजेट कार्यान्वयन उत्साहजनक रहेको बताउनुहुँदै भक्तपुर नपाको कार्य अरुको लागि नमुना र अध्ययनको विषयको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर नपाले अरु नगरपालिकाको लागि अनुकरणीय कार्य गरी देखाएको र सम्पदा संरक्षण र सम्बद्र्धन गरी नगरका कुना–काप्चामा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ भन्नुभयो ।

भक्तपुर नपाका कार्यकारी अधिकृत रोहितराज पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांले स्वागत गर्नुभएको थियो भने भक्तपुर नपा वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।