२०७४ चैत्र २० गतेदेखि प्रत्येक मंगलबार बेलुका ७:०० बजेदेखि ८:०० बजेसम्म भक्तपुर एफ.एम.मा भक्तपुर नगरपालिकाका गतिविधिहरुबारे जानकारी सहितको जनचेतनामूलक रेडियो कार्यक्रम संचालन हुँदैछ । सुन्न नभुल्नुहोला ।

फोटो ग्यालरी

भक्तपुर ।
    भक्तपुर नगरपालिकाले तयार गरेको विद्यालय शिक्षा आधारभूत तहको स्थानीय पाठ्यक्रमको विषयमा नगरभित्रका विद्यालयका प्रधानाध्यापकहरुबीच बैशाख ३१ गते सोमबार प्रवोधिकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
    कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ पुस्तालाई भक्तपुरको इतिहास, कला, संस्कृति र जनजीवनबारे जानकारी दिने उद्देश्यले नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको बताउनुभयो ।
    विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई आएपछि भक्तपुर नगरपालिकाले पहिलिो प्रयास स्वरुप पाठ्यक्रम तयार गरेको उल्लेख गर्दै उहाँले विद्यार्थीहरुलाई पढाउँदै जाँदा समयानुकूल सुझावहरु आएमा परिमार्जन गर्दै जाने बताउनुभयो । उहाँले अन्य कक्षाहरुको पाठ्यक्रम पनि तयार गर्दै जाने स्पष्ट पार्नुभयो ।
    प्रमुख प्रजापतिले नेपालको संविधानमा आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्यका साथै माध्यमिक तहको शिक्षा निःशुल्क हुने उल्लेख भएपनि संघीय सरकारले शिक्षा क्षेत्रमा क्रमशः बजेट कम गर्दै गएबाट दोहोरो चरित्र प्रदर्शन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संघीय सरकारले उचित श्रोतको व्यवस्था गरेमा विद्यालय शिक्षा निःशुल्क गर्ने भक्तपुर नै पहिलो नगरपालिका बन्ने निश्चित छ ।’ भक्तपुर नगरपालिकाले अहिले नै सातवटा शैक्षिक संस्थाहरुमार्फत विभिन्न विषयहरुमा स्नातकोत्तर तहसम्मको अध्यापन गराउँदै आएको चर्चा गर्दै उहाँले सरकारले विधेयक पास गरेमा ख्वप विश्वविद्यालय संचालन गर्ने क्षमता रहेको प्रष्ट पार्नुभयो ।
    नयाँ संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाए पनि अनेक बहानाबाजी गरेर स्थानीय तहको अधिकार कुण्ठित गर्न खोजिएको प्रति सचेत भएको प्रमुख प्रजापतिको कथन थियो । उहाँले शिक्षा, स्वास्थ्य उपचार, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रहरुमा भक्तपुरलाई देशकै नमूना बनाउने लक्ष्य सहितको अभियानमा रचनात्मक सहयोग गर्न प्रवुद्ध व्यक्तिहरुलाई आग्रह गर्नुभयो ।
    स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेंले भक्तपुरको रैथाने ज्ञान र प्रविधिलाई संरक्षण गर्न र लोप हुन लागेका सिपलाई पुर्नजीवन दिन स्थानीय पाठ्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पाठ्यक्रम विकास केन्द्रसंग समन्वय गरेर बनाइएको चर्चा गर्दै व्यवस्थित ढाँचामा विद्यार्थीको मूल्यांकन गर्ने विधिसमेत उल्लेख गरेको जानकारी दिनुभयो ।
    नगरपालिकाबाट तयार गरिएको स्थानीय पाठ्यक्रमबारे प्रवोधिकरण गर्दै प्राध्यापक सिद्धिरत्न शाक्यले कार्यदलले शिक्षकहरुलाई विषयवस्तु पढाउन सजिलो बनाउने उद्देश्यले सरल ढंगबाट पाठ्यक्रम बनाइएको बताउनुभयो । उहाँले पाठ्यपुस्तकविना पनि सन्दर्भ सामग्री, स्थलगत भ्रमण र स्थानीय व्यक्तिहरुबीच अन्तरसम्वाद गरेर सहजै पढाउन सकिने प्रष्ट पार्नुभयो । भक्तपुरको स्थानीय मौलिकता र विशेषता पढाउनुपर्ने भएकोले सकभर स्थानीय शिक्षकले नै पढाएमा राम्रो हुने उल्लेख गर्दै उहाँले शिक्षकले मेहनत गरेमा विद्यार्थीहरु लाभान्वित हुने बताउनुभयो ।
    कार्यदलका सदस्यहरु उद्धव सुजखू र रोशनराज तुइतुईले स्थानीय पाठ्यक्रमलाई यसै शैक्षिक सत्रदेखि कक्षा १ र कक्षा ६ मा लागू गरिने र यसका लागि विषय शिक्षकहरुलाई जेठको दोश्रो हप्तामा अभिमुखीकरण गर्ने बताउनुभयो । स्थानीय पाठ्यक्रम सय पूर्णांकको हुने प्रत्येक विद्यालयले हप्तामा ४ पिरियड पढाउनुपर्ने उहाँहरुको भनाइ थियो ।
    नगरपालिकाले स्थानीय शिक्षासेवीहरुको भेलाबाट २०७४ माघ २३ गते एक कार्यदल गठन गरी स्थानीय पाठ्यक्रम निर्माण गर्ने जिम्मेवारी दिएको थियो । कार्यदलले सरोकारवाला शिक्षक, प्रअ, अभिभावक, शिक्षाविद् एवं स्थानीय विज्ञहरुसंग अन्तरक्रिया तथा स्थलगत अध्ययन गरी पाठ्यक्रम तयार गरी २०७५ बैशाख २ गते एक समारोहका बीच नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
    पाठ्यक्रम नगरका ९२ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कक्षा १ र ६ मा यसै शैक्षिक सत्रदेखि लागू हुने छ । कक्षा १ मा निरन्तर मूल्यांकन पद्दति र कक्षा ६ मा सैद्धान्तिक तथा प्रयोगात्मक परीक्षाद्वारा विद्यार्थीको मूल्यांकन गरिने कार्यदल स्रोतले बताएको छ ।

, , , ,

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भक्तपुरका केही सम्पदाहरु निर्माणका लागि जर्मन विकास बैंक केएफडब्ल्यूले सहयोग गर्ने प्रतिवद्धताबाट जर्मन पक्ष पछि हट्ने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसंग नेपालका लागि जर्मन राजदुत रोलाण्ड शेफरले सोमबार भेट गर्ने क्रममा केएफडब्ल्यूमार्फत हुने सहयोग हाललाई बन्द हुने तर भक्तपुरको विकास र सम्पदा संरक्षणको लागि अन्य उपयुक्त माध्यमबाट जर्मन सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण र विकास निर्माणको कार्य भइरहेको बताउनुभयो । उपभोक्ता समितिमार्फत कार्य हुँदा संरचना बलियो हुने, संरचनाप्रति स्थानीय जनताको अपनत्व रहने, स्थानीय जनताले स्वयंसेवी रुपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय कार्य हुने उहाँको भनाइ थियो । स्थानीय सीप, प्रविधि र परम्परागत निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएका पांच तले मन्दिर, ५५ झ्याले दरबार, भैरबनाथ मन्दिर लगायत धेरै सम्पदाहरु सयौं वर्षसम्म जस्ताको तस्तै रहेको उल्लेख गर्दै नगरपालिकाले आप्mनै इन्जिनियरिङ कलेज संचालन गरेर नयाँ पुस्तालाई स्थानीय सीप र प्रविधिको प्रयोगबाट बलियो र भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने विषय अध्यापन गराइरहेको बताउनुभयो ।
जर्मन राजदुत शेफरले भक्तपुर नगरपालिका र केएफडब्ल्यूबीच यसअघि आदान प्रदान भएको पत्राचारमा देखिएका परियोजना सञ्चालन सम्बन्धी प्रमुख ३ वटा असमझदारीहरुमध्ये पुजारी मठको पुनः निर्माणमा स्टीलको रड प्रयोग र कंक्रीट ढलान गर्न नहुने, उपभोक्ता समितिमार्फत पुनःनिर्माण कार्य गर्ने, र भक्तपुर दरबारक्षेत्रका ऐतिहासिक सम्पदाहरु पुनः निर्माण गर्दा अन्तर्राष्ट्रिय टेण्डर गर्दा समस्या हुने विषयमा भक्तपुर नगरपालिकाको भावनालाई केएफडब्ल्यूले स्वीकार गर्न नसकेको बताउनुभयो । उहाँले सम्पदा संरक्षणमा भक्तपुरका जनताहरुको समर्पणभावको उच्च प्रशंसा गर्दै जनभावनाविपरित आफुहरु नजाने प्रष्ट पार्नुभयो ।
भक्तपुर र जर्मनी सरकारबीच जनस्तरमै प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै राजदुत शेफरले नगरको हितमा कुनै पनि बखत सहयोग गर्न जर्मन सरकार तयार रहेको बताउनुभयो । उहाँले सम्पदा संरक्षणमा भक्तपुरको ज्ञान र प्रविधिबारे भविष्यमा अन्तर्राष्ट्रिय स्तरमै छलफल हुने र त्यसमा जर्मन सरकारको तर्फबाट पनि सहयोग गर्ने अवसर पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले भूकम्पले पीडामा रहेका भक्तपुरबासीहरुलाई सहयोग गर्ने जर्मन सरकार र जर्मन नागरिकहरुलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै भक्तपुरको सम्पदा विश्व सम्पदा सूचिमा सुचिकृत भएकोले यसको संरक्षण गर्नु नगरपालिकाको दायित्व भएको प्रष्ट पार्नुभयो ।
भेटमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, भनपा ९ नं वडा अध्यक्ष रविन्द्र ज्याख्व, ७ नं वडा अध्यक्ष उकेश कवां,  पर्यटन अधिकृत दामोदर सुवाल, जर्मन विकास सहयोग प्रमुख क्लाउडिया हिपे, शंकर पाण्डे र टिका ढकालको पनि उपस्थिति रहेको थियो ।

 

, , , ,

भक्तपुर ।
    भक्तपुर नगरपालिकाले सोमबार विभिन्न महानगरपालिका, उप महानगरपालिका र नगरपालिकाबाट आउनुहुने प्रमुख, उप प्रमुख एवं जनप्रतिनिधिहरुलाई नगरपालिका सभाकक्षमा स्वागत ग¥यो । भक्तपुरको आप्mनै उत्पादन कालो टोपी, गलबन्दी र थैली उपहार दिएर स्वागत गरिएको उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाका गतिविधिहरुको बारेमा जानकारी दिनुभयो ।
    उहाँले आठौं शताब्दीदेखि स्वतन्त्र राज्यको रुपमा सभ्यता बोकेको भक्तपुर आफैंमा जीवित संग्रहालय भएको चर्चा गर्दै यसलाई साँस्कृतिक शहरको रुपमा राज्यबाट घोषणा गराउन पहल भइरहेको बताउनुभयो ।
    प्रमुख प्रजापतिले २०७२ को विनाशकारी भूकम्पले भक्तपुरका १३६ भन्दा बढी सम्पदा र ८ हजारभन्दा बढी निजी घरहरुमा क्षति पु¥याएको उल्लेख गर्दै सम्पदा पुनःनिर्माणमा नगरपालिकाले विशेष ध्यान दिइरहेको प्रष्ट पार्नुभयो । उहाँले सम्पदा संरक्षणमा स्थानीय जनताको अपनत्वसहित उपभोक्ता समितिमार्फत कम लागतमा उच्च गुणस्तरीय कार्य भइरहेको उल्लेख गर्नुभयो ।
    निर्वाचनको बेला जनताबीच प्रतिवद्धता व्यक्त गरे अनुसार नगरपालिकाले शिक्षा र स्वास्थ्य उपचारको क्षेत्रमा प्राथमिकता दिएको उहाँको भनाइ थियो । ‘नगरपालिकाले ६ वटा शिशु स्याहार केन्द्र, ७ वटा शैक्षिक संस्थाहरु, ३ वटा जनस्वास्थ्य केन्द्रहरु र दशवटै वडामा नर्स र स्वास्थ्य स्वयंसेविका खटाएर घरदैलोमा नर्सिङ सेवा प्रदान गरिरहेका छौं, अब ख्वप अस्पताल र ख्वप विश्वविद्यालय स्थापनाको तयारीमा छौं’, प्रमुख प्रजापतिले भन्नुभयो ।
    नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरका गतिविधिबारे जानकारी लिने उद्देश्यले भक्तपुरको भ्रमणमा आउनुहुने विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत गर्दै अनुभव आदान प्रदानले धेरै कुरा सिक्न सकिने विश्वास गर्नुभयो ।
    देको मिवा इटापाके जग्गा एकीकरण आयोजनाका प्रमुख आ. दिलभक्त जयनाले नगरपालिकाले संचालन गरिरहेका व्यवस्थित आवास योजनाहरुको स्थितिबारे अवगत गराउनुभयो ।
    भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरु बहाल भएपछिको प्रगतिबाट प्रभावित भएको उल्लेख गर्दै विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरुले भक्तपुरबाट धेरै कुरा सिक्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
    कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगाना, गौरीगंगा नगरपालिकाका उप प्रमुख अंचला चौधरी, घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा, भेरीगंगा नगरपालिकाका उप प्रमुख रेणु आचार्य लगायतले उपभोक्ता समितिमार्फत कार्य गर्ने शैली, घरदैलोमा नर्सिङ सेवा संचालन प्रकृया, ख्वप कलेजहरु संचालन भइरहेको आदिबारे उत्सुकतापूर्वक जिज्ञासाहरु व्यक्त गर्नुभएको थियो ।
    बीरगञ्ज महानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, नीलकण्ठ नगरपालिका, बाँसगढी नगरपालिका, कविलासी नगरपालिका, हेटौडा उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, बेसीशहर नगरपालिका, दुहवी नगरपालिका, गौरीगाां नगरपालिका र भेरीगंगा नगरपालिकाबाट आउनुहुने प्रमुख, उप प्रमुख, वडाध्यक्ष, प्रमुख पशासकीय अधिकृतलगायतलाई औपचारिक कार्यक्रम पछि भक्तपुर नगरका सम्पदास्थलहरुको भ्रमण गराइएको थियो । त्यस्तै  नगरपालिकाबाट संचालित ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेजका प्राचार्य रुपक जोशीले कलेजहरुको भ्रमण गराई कलेज संचालनबारे जानकारी दिनुभयो ।

मध्यपुरका नगर प्रमुखमाथि साँघातिक हमलाको भक्तपुर नगर प्रमुखद्वारा भत्र्सना
भक्तपुर ।
    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मध्यपुर नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठमाथि हालै भएको साँघातिक हमलाको घोर भत्र्सना गर्नुभयो । विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरुलाई भक्तपुर नगरपालिकामा स्वागत गर्ने क्रममा प्मुख प्रजापतिले जनप्रतिनिधिमाथिको हमला खेदजनक भएको उल्लेख गर्दै दोषीमाथि कार्वाही गर्न माग गर्नुभयो ।

 

, , , , , , , , ,