FAQs Complain Problems

News

भक्तपुर नगरपालिकाको छैटौं नगरसभाको उदघाटन सम्पन्न

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको छैटौं नगरसभा पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।

प्रमुख अतिथि बिजुक्छेँले एमसीसी सम्झौता नेपालको लागि खतराको विषय भएको औंल्याउनुहुँदै नेपाल मजदुर किसान पार्टीले एमसीसीको खुलेर विरोध गर्दै आएको र व्यापक जनतालाई पनि सजग बनाउँदै आएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित स्वास्थ्य केन्द्रबाट प्रवाहित हुने सेवाहरुमा सुधार आवश्यक भएको औंल्याउनुहुँदै उहाँले नगरपालिकाले भक्तपुरमा रहेका अरु संघ–संस्थाको काम–कारबाहीहरु पनि ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालमा भएका अनियमितता र बेथिति समयमै जनताले थाहा पाएका कारण अस्पताल सम्भावित संकटबाट जोगिएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले अस्पताल र स्वास्थ्य संस्थाहरु संवेदनशील क्षेत्र हो र स्वास्थ्य संस्थाहरुमा कहिले पनि हस्तक्षेप गर्न नहुने बताउनुभयो ।

चीनमा फैलिरहेको कोरोना भाइरसप्रति एक्यबद्धता जनाउनुहुँदै अध्यक्ष बिजुक्छेँले चिनिया“ सरकार र चिनियाँ जनताले कोरोना भाइरसविरुद्ध साहसीपूर्वक लडिरहेको छ भन्नुभयो । उहाँले संसारका अनेक घटनाक्रम तथा युद्धहरुमा अमेरिकी साम्राज्यवादको षड्यन्त्र दृश्य—अदृश्य रुपमा रहने गरेको प्रष्ट पार्नुभयो ।

नेपाल सरकारले विश्व स्वास्थ्य संगठनसँग आवश्यक सहकार्य गरी नेपालमा चिनियाँ नागरिकको व्यवस्थापनको लागि भूमिका खेल्नुपर्नेमा जोड दिनुहुँदै नेता बिजुक्छेँले आपतको समयमा गरेको सहयोगले मनोबल वृद्धि गर्न मद्दत पु¥याउँछ भन्नुभयो ।

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको ६ महिनाको प्रगति समीक्षा प्रस्तुत गर्नुहुँदै भक्तपुर नगरपालिकाको मौलिक पहिचानलाई कर्हीकतैबाट हस्तक्षेप वा अतिक्रमण नहोस् भन्नेबारे नपाका जनप्रतिनिधिहरु सचेत रहेको बताउनुभयो ।

नेपालमा फैलिएको डेंगु रोग र हाल चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल भित्रिने पर्यटकहरुको संख्यामा कमी आएको औंल्याउनुहुँदै भक्तपुर नपा शिशुस्यारहादेखि कलेजसम्म आफ्नै स्रोत र साधनले शैक्षिक संस्थाहरु सञ्चालनगर्ने नेपालकै पहिलो नगरपालिकाको भएको बताउनुभयो ।

२०७२ सालको भूकम्पबाट क्षति पुगेको भक्तपुर दरबार क्षेत्रस्थित कला संग्रहालय रहेको न्ह्यकं झ्य दरबार, पहिले नगरपालिका भवन रहेको थन्थु दरबारलगायतका केही संरचनाहरु प्राविधिक कारणले निर्माणमा ढिलाई भइरहेको छ – प्रमुख प्रजापतिले भन्नुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले न्यायप्रेमी जनताको सल्लाह सुझावलाई आधार बनाएर भक्तपुर नपा अगाडि बढ्ने प्रतिबद्धता जनाउनुहुँदै पाँच दिने भक्तपुर महोत्सवमा हुने प्रदर्शनीमा नगरबासीहरुको साथ र सहभागिताको लागि आह्वान गर्नुभयो । स्थानीय तह निर्वाचन २०७४ मा नेमकिपाले भक्तपुर नपाको लागि जारी गरेको घोषणापत्रअनुरुप आफ्नो कार्यक्रमहरुलाई अगाडि बढाइरहेको छ – उहाँले भन्नुभयो ।

विशेष अदालतका पूर्व मुख्य न्यायधीश गौरीबहादुर कार्कीले स्थानीय तहमा भ्रष्टाचारको जनगुनासो भएको अवस्थामा भक्तपुर नपा ७५३ वटा स्थानीय तहमध्ये उत्कृष्ट भएको बताउनुहुँदै कुनै पनि नीति नियम, ऐन–कानुन बनाउँदा जनताको सुझावअनुरुप भए त्यसको कार्यान्वयन प्रभावकारी हुने बताउनुभयो । उहाँले भक्तपुरमा पर्यटकहरुको बसाई लम्ब्याउन नगरपालिकाको अगुवाई आवश्यक भएको बताउनुहुँदै पर्यटन व्यवसाय सम्बन्धी आवश्यक अध्ययन र छलफलमा जोड दिनुपर्ने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नपाले नगर विकासको निम्ति आवश्यक नीति निर्णय लिनेछ भन्नुहुँदै भक्तपुर नपाले नक्सा पास, सामाजिक सुरक्षा भत्ता, वडा–वडामा नर्स परिचालन तथा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले भक्तपुर नपाले आफ्नै मातहतमा ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृति ढिलो–चाडो प्राप्त गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहााले संघ र प्रदेश सरकारले समयमै ऐन–नियम बनाएको खण्डमा स्थानीय तहहरुलाई आफ्नो कार्य सञ्चालन गर्न सजिलो हुने बताउनुहुँदै देशभरिका ७५३ वटा स्थानीय तहमध्ये भक्तपुर नपाले उत्कृष्ट ढंगले काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले नगरका शिक्षा प्रेमी जनताको चाहना ‘एक घर एक स्नातक’ नारालाई सार्थक तुल्याउन नपाद्वारा सञ्चालित कलेजहरुले महत्वपूर्ण भूमिका खेलिरहेको चर्चा गर्नुभयो । ख्वप इन्जिनियरिङ कलेजमा अध्ययरत विद्यार्थीहरुको नतिजा उत्कृष्ट भएकै कारण कलेजमा पढ्ने देशभरिका विद्यार्थीको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको बताउनुभयो ।

शुभकामना मन्तव्य प्रस्तुत गर्नुहुँदै ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप माविमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीको तथ्याड्ढ प्रस्तुत गर्नुहुँदै यस आर्थिक वर्षमा भक्तपुर जिल्लाभरिबाट १५७९ जना र भक्तपुर नपाबाट ७०८ जना विद्यार्थीहरु अध्ययनरत रहको बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर ऋषिकेशनारायण श्रेष्ठले नगरसभाको पूर्ण सफलताको कामना गर्नुहुँदै भक्तपुर क्यान्सर अस्पतालको असहज स्थितिमा सहयोगी भूमिका खेल्ने भक्तपुर नपा र नगरबासीहरुप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । अस्पताल स्थापनाको २३ वर्ष बितिसक्दा पनि भक्तपुर क्यान्सर अस्पतालको समयसापेक्ष प्रगति र विकास गर्न नसकेकोप्रति चिन्ता व्यक्त गर्नुहुँदै डा. श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालमा सबै किसिमको क्यान्सर उपचार सेवा उपलब्ध रहेको अवगत गराउनुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको उद्घाटन समारोहमा भक्तपुर नपाका जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधि, विभिन्न संस्थाका कार्यालय प्रमुख तथा प्रतिनिधि, शिक्षासेवी, समाजसेवी, विद्यालयका प्रधानाध्यापक, कर्मचारी, सहकारीकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।